“समतामूलक, आत्मनिर्भर, समावेशी र अधिकार सम्पन्न समाज”

हामी हरेक अपाङ्गता भएका ब्यक्तिलाई समतामूलक माध्यमबाट समानताको लक्ष्यमा पुगेको हेर्न चाहन्छौँ । अपाङ्गता भएका ब्यक्तिलाई समानतामा पुग्न समतामूलक ब्यवहारले नै सहयोग पुग्दछ भन्ने हाम्रो ठम्याई छ । सामाजिक,राजनीतिक, आर्थिक, साँस्कृतिक, धार्मिक लगायत सबै क्षेत्रमा अपाङ्गता भएका ब्यक्तिलाई समनाताको ब्यवहार गर्दा अन्याय हुन्छ । उदाहरणका लागि कुनै एउटा रोजगारीमा छनोट गर्दा अपाङ्गता भएका ब्यक्ति र साङ्ग ब्यक्तिलाई समान रुपमा प्रतिश्पर्धा गराईयो भने अपाङ्गता भएको ब्यक्तले प्रतिष्पर्धा गर्न सक्दैन ।

अपाङ्गता भएका ब्यक्ति आत्मनिर्भर हुन सके मात्र उनीहरुको नैसर्गीक मर्यादाको सम्मान हुन्छ ।
जीवनयापनका लागि अरुकै मात्र सहारा लिनुपर्ने अवस्थाले मानवलाई स्वतन्त्र हुनबाट बञ्चित गराउँदछ । हामी हरेक अपाङ्गता भएका ब्यक्ति आत्मनिर्भर होउन भन्ने चाहन्छौँ र हाम्रा हरेक क्रियाकलापले उनीहरुलाई आत्मनिर्भर हुन सघाउ पुर्‍याउने लक्ष्य बोकेका हुन्छन् ।

हामी राज्यका हरेक तहमा अपाङ्गता भएका ब्यक्तिको अर्थपूर्ण सहभागिता र समावेशीकरण चाहन्छौँ । घरपरिवार, समाजदेखि राज्यका सबै अङ्ग तथा नीति निर्माण तहमा अपाङ्गता भएका ब्यक्तिको सहभागिता हुन सकेमात्र अपाङ्गता मैत्री नीति निर्माण हुनसक्छ । उक्त सहभागिता समावेशीकरणको सिद्धान्त अनुसार मात्र सम्भव छ ।

हामीले अपाङ्गता भएका ब्यक्तिहरुले सम्पूर्ण मानव अधिकारको उपभोग गरेको हेर्न चाहन्छौँ । सम्पूर्ण कानूनी अधिकार, नागरिक अधिकार, संविधान प्रदत्त मौलिक हकको अपाङ्गता भएका ब्यक्तिले बिना भेदभाग पूर्ण रुपमा उपभोग गरेको समाज देख्न चाहन्छौँ ।